माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशतले बढ्यो, अधिकांश सूचक सुधारात्मक लयमा


काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश सूचकमा सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चैत मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १६ करोड खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी बढ्दा बैंकको खुद नाफामा सुधार आएको हो ।

अधिकांश बैंकको ब्याज आम्दानीमा गिरावट आउँदा माछापुच्छ्रे बैंकले भने ब्याज आम्दानी समेत बढाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४।०९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप २०.५६ प्रतिशत तथा कर्जा २१.६६ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकमा एक खर्ब २५ अर्ब निक्षेप तथा एक खर्ब १२ अर्ब कर्जा रहेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चुक्ता पूँजी ७.०३ प्रतिशत बढेको छ भने जगेडा कोष १३.९३ प्रतिशत बढेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ छ । जसको जगेडाकोषमा ३ अर्ब ५६ करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेर आम्दानी १९ रुपैयाँ १ पैसा, मूल्य आम्दानी अनुपात १८.५२ गुणा तथा प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३० पैसा छ ।

बैंकको खराब कर्जा भने केही बढेर ०.५१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया