

अपराधिक गिरोहसँग प्रहरीकै मिलेमतो, यसरी बाहिरियो घटना

वीरगंज – नेपाल-भारतको सीमावर्ती क्षेत्रबाट लुटपाट तथा लागुऔषध कारोवारमा संलग्न भएको अभियोगमा एक प्रहरीसहित ८ जना पक्राउ परेका छन् ।
पक्राउ परेका आरोपितहरुको साथबाट २ थान पेस्तोल र ४ थान म्याग्जिनसहित विभिन्न किसिमका लागुऔषधसमेत बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेको समूहले लागूऔषध तथा हातहतियार कारोबारीलाई भारतको रक्सौल लगेर लागुऔषध र हातहतियार खरिद गराउने र पछि वीरगंज ल्याएर लुट्ने गरेको रहस्य खुलेको छ । उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरी जवानले उनीहरुलाई सहयोग गर्दै आएकोसमेत खुलेको छ ।
पर्सा प्रहरीले वैशाख ८ गते मकवानपुरको मनहरी गाउँपालिका-५ बस्ने २५ वर्षीय राजु राना मगरलाई अवैध हतियारसहित पक्राउ गरेपछि घटना बाहिरिएको प्रहरीको भनाइ छ । सो समूहले मगरलाई पनि केहीदिन अगाडि लुटेको थियो ।
घटना बाहिरिएपछि मगरले प्रहरीलाई दिएको नाम अनुसार उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
पक्राउ पर्नेमा रौतहटको सखुहवा नगरपालिका-१ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगंज महानगरपालिका-१२ स्थित मुर्ली बस्ने ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंह छन् ।

