युवतीसहित डुकु होटलबाट पक्राउ परेका गाउँपालिका प्रमुखविरुद्ध बलात्कार मुद्दा


काठमाडौं – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्तीकरणी मुद्दा दर्ता भएको छ । गत बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

यादवविरुद्ध बिहीबार जबर्जस्तीकरणी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

जागिर लगाइदिने भन्दै यादवले किशोरीलाई इटहरीबाट लिएर धरान गएको र धरानको भेडेटार लाइनमा रहेको डुकु होटलमा अध्यक्ष यादव युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीको दावी छ ।

होटलबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले किशोरी १७ वर्षको मात्रै रहेको पाइएपछि यादवलाई करणी मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । बिहीबार भने किशोरीले नै जाहेरी दिएकी थिइन् ।

किशोरीले जागिरको प्रलोभन देखाएर आफ्नो इच्छा विपरित करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानबहादुर बस्नेतका अनुसार जागिर लगाइदिने बहानामा इच्छा विपरित करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी हुन् ।

तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वाचित यादवसँगै होटलमा भेटिएकी किशोरीलाई सरकारी गाडीले होटलमा छाडेपछि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। किशोरीले यौनजन्य क्रियाकलाप नगरौं भन्दा जबरजस्ती गरेको बयान दिएकी थिइन् ।

बुधबार रामनवमी भएकाले सरकारी विदा थियो । विदाको मौकामा अध्यक्ष यादवले जागिर लगाइदिने प्रलोभनमा इटहरीकी किशोरीलाई फोन गरे । फोनमै उनीहरुबीच धरान जाने सहमति भयो ।

भोक्राहा नरसिंहदेखि इटहरी आउन गाडीमा करिब ४५ मिनेट लाग्छ । अध्यक्ष यादवले जागिर लगाइदिने प्रलोभनमा ती युवतीलाई फोन गरेर गाउँपालिका कार्यालयबाट निस्किएका बताइएको छ ।

अध्यक्ष यादव बुधबार दिउँसो सरकारी गाडीमा होटेल आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी पुग्दा समेत अध्यक्ष यादव निर्वस्त्र अवस्थामा थिए ।

होटेलमा अध्यक्ष यादवले किशोरीको नाम सविना र उनको नाम सलिन शाह टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

धरानको होटलमा महिलासँग निर्वस्त्रै भेटिए गाउँपालिका प्रमुख

सरकारी गाडीमा १७ बर्षीया किशोरी लिएर डुकु होटल पुगेका थिए गाउँपालिका प्रमुख यादव

प्रतिक्रिया