समाचार प्रभावः सोह्रखुट्टेदेखि बालाजुसम्मको अव्यवस्थित पार्किङमाथि ट्राफिक प्रहरीको कडाइ


काठमाडौं – ट्राफिक प्रहरी साह्रखुट्टे चोकदेखि बालाजु चोकसम्म सडक किनारामा अनाधिकृत रुपमा पार्किङ गर्ने सवारीसाधनमाथि कडाइ गर्नुको साथै कारबाही गर्न थालेको छ।

बुधबार बिहानैदेखि ट्राफिक प्रहरीले सडक किनारामा पार्किङ गरिराखेको एक दर्जनभन्दा बढी मोटरसाइलमा ‘ह्विल लक’ लगाएर कारबाही गरिसकेको छ।

‘प्रहरीले ह्विल लक लगाएर कारबाही गर्न थालेपछि जो कोहीले हत्तपत्त पार्किङ गर्न छाडेका छन्,’ सोह्रखुट्टे चोकनजिकै किराना पसल सञ्चालन गर्दै आएका व्यवसायीले भने, ‘दुई दिन भयो यहाँ ट्राफिकले एकदमै कडाइ गरेको छ।’

उक्त स्थानमा ट्राफिकले कडाइ गर्न थालेसँगै पहिलाको जस्तो मनलाग्दी पार्किङ अहिले हुँदैन। प्रहरीले अव्यवस्थित पार्किङ गरेको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि मोटरसाइकल चालक आक्रोशित समेत बनेका थिए।

गत सोमबार अनलाइनन्यू७ ले ‘एक प्रहरीको थाप्लामा १० हजार सवारीको चापः अव्यवस्थित पार्किङले ट्राफिकमाथि उठ्यो प्रश्न’ शीर्षकमा समाचार सम्प्रेषण गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमाथि दबाब बढेको थियो।

अव्यवस्थित रुपमा जताततै सवारीसाधन पार्किङ गरिराखेको देख्दा ट्राफिक प्रहरी देखे पनि नदेखेझैं गर्ने गरेको थियो। समाचार नै आउन थालेपछि ट्राफिक प्रमुख एसएसपी जनक भट्टराईले अव्यवस्थित पार्किङलाई नियन्त्रण गर्न निर्देशन दिएको महाशाखाले जनाएको छ।

ट्राफिक प्रमुख भट्टराई आफैं फिल्डमा गएर ट्राफिक व्यवस्थापनबारे बुझ्न थालेका छन्। मंगलबार ट्राफिक प्रमुख भट्टराई उपत्यकाको बढी जाम हुने २÷३ ठाउँमा पुगेर अनुगमन गरेको महाशाखाका एक अधिकृतले भने।

 

यो पनि पढ्नुहोस्ः

एक प्रहरीको थाप्लामा १० हजार सवारीको चापः अव्यवस्थित पार्किङले ट्राफिकमाथि उठ्यो प्रश्न

प्रतिक्रिया