एक प्रहरीको थाप्लामा १० हजार सवारीको चापः अव्यवस्थित पार्किङले ट्राफिकमाथि उठ्यो प्रश्न


काठमाडौं–  सवारीसाधन चलाउँदै हुनुहुन्छ भने गल्ती नै नगर्दा पनि ट्राफिक प्रहरीले रोक्छ कि भन्ने डरले अगाडि जान सकिन्न। अझ लाइसेन्स वा सवारी साधनको कागजपत्र अर्थात बिलबुक साथमा छैन भने ट्राफिक प्रहरी देख्यो भने तत्कालै मोड लिएर भाग्न खोज्छौं। कारण, ट्राफिक प्रहरीले ‘चिट’ काटिदिन्छ।

कोही बेला साथमा कागजपत्र हुँदाहुँदै पनि ट्राफिक प्रहरीको अगाडिबाट सवारीसाधन चलाउँदा समेत मन डराउँछ। जो कोहीलाई यस्तै हुन्छ। ट्राफिक प्रहरी देख्नासाथ हल्का डर हुनु स्वभाविक पनि हो। कहिँकतै गल्ती गरेको भए ट्राफिकले नियन्त्रणमा लिन्छ कि? भन्ने प्रश्न मनमा उब्जिन्छ।

बिना गल्ती ट्राफिक प्रहरीले रोक्दैन र बिनाकारण ‘चिट’ पनि काट्दैन। तर, पछिल्लो समय काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीको कारण व्यवस्थापन फितलो साबित भएको छ। अव्यवस्थित पार्किङ, जथाभावी लेनक्रस र फितलो ट्राफिक चेकजाँचले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीको काम हो। कुनै सवारीसधानले लेनक्रस गरेको छ भने कारबाहीको दायरामा ल्याउनु पनि ट्राफिक प्रहरीको काम हो। यस्तै बेला–बेला चेकजाँच गर्नु पनि ट्राफिककै काम हो। तर, सवारीसाधन चालकहरुले ट्राफिक प्रहरीलाई खुलेआम चुनौती दिइरहेका छन्।

अव्यवस्थित रुपमा जताततै पार्किङ गरि राख्दा ट्राफिक प्रहरी देखे पनि नदेखेझैं गर्ने गरेको छ। यसको पछिल्लो उदाहरण हो– सोह्रखुट्टे चोकदेखि बालाजुसम्म, मैतीदेवीदेखि पुरानो बानेश्वरसम्म, नयाँ बानेश्वरको भित्री सडक, कुपण्डोललगायत थुप्रै स्थानहरु छ। उक्त क्षेत्रमा राम्रोसँग पैदलयात्रुहरु हिँड्न समेत पाउँदैनन्।

ती स्थानहरुको सडकको दुवै किनारामा मोटरसाइकलदेखि गाडीहरु पार्किङ हुने गर्छ। यसमा ट्राफिक प्रहरीको ठूलो कमजोरी छ। देख्दा देख्दै पनि ट्राफिक प्रहरी पार्किङ गरेको ठाउँसम्म पुग्ने आँट नै गर्दैन।

सोह्रखुट्टेदेखि बालाजुसम्म रेष्टुरेन्ट, पार्टी प्यालेस, वर्कसप, मोटरसाइकल रिकन्डिसनलगायत धेरै व्यवसाय सञ्चालनमा छ। सोहीकारण पनि रेष्टुरेन्टमा आउने रेष्टुरेन्ट अगाडि, वर्कसपमा आउने वर्कसप अगाडि, रिकण्डिसनमा आउने रिकण्डिसन अगाडि आफ्नो सवारीसाधनहरु खुलेआम पार्किङ गर्ने गर्छन्।

ट्राफिक प्रहरीले देखे पनि नदेखेझैं गर्छ। अफिस समयमा उक्त क्षेत्रमा जाम मात्र होइन दुर्घटना समेत हुने गरेको छ। अव्यवस्थित पार्किङले राम्रोसँग अन्य सवारीसाधनहरु चल्न पाएको छैन।

‘अफिस एरिया’समेत भएकाले सडकमै गाडीहरु समेत पार्किङ हुन्छ। पछिल्लो डेढ महिनायता सोह्रखुट्टे चोकदेखि बालाजुसम्म जताततै पार्किङ हुन्छ।

ट्राफिक प्रहरीले पैसा असुलेर पार्किङ गर्न दिएको आरोप लाग्न थालेको छ। ‘प्रत्येक व्यवसायीहरुले ट्राफिक प्रहरीलाई मासिक रुपमा पैसा बुझाउने गरेका कारण जथाभाबी रुपमा भएको पार्किङप्रति ट्राफिक प्रहरीले वेवास्ता गरेको हुनसक्छ,’ सोही ठाउँमा किराना पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले भने।

त्यसैगरी ठमेलभित्रका सडकहरुमा समेत जथाभाबी पार्किङ हुने गर्छ। न्यूरोड गेटबाट छिर्ने बाटो हुँदैन। पार्किङको लागि काठमाडौं महानगरले ठाउँ तोकिदिँदा समेत उक्त क्षेत्रमा पनि जथाभाबी पार्किङ हुने गर्छ।

महानगरीय ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई आएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन झनै राम्रो हुनेमा महाशाखा विश्वस्त थियो। तर, परिणाम उल्टो आएको छ। एसएसपी भट्टराई महाशाखामा आएपछि झन जाम बढ्दो र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

फिल्डमा नजाने, कार्यालयमै बसेर निर्देशन दिने गरेका एसएसपी भट्टराई महाशाखा आएको लामो समय नभए पनि पहिलाकै ट्राफिक व्यवस्थापनलाई निरन्तरता दिन नसकेको आरोप छ।

‘आफ्नो काम पर्दा कार्यालयबाट मात्र निस्किने गर्छन्, एसएसपी भट्टराई। नभए कार्यालयबाटै अह्राउने, खटाउने गर्छन्,’ महाशाखाका एक अधिकृतले भने।

८ मंसिरमा महाशाखा प्रमुख भएर आएपछि भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामहरुलाई आफूले निरन्तरता दिने बताएका थिए। विगतमा पनि आफूले मशाखाका अन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जामलाई पहिलो प्राथमिकतामा राख्ने उद्घोष गरेका थिए।

तर, परिणाम ठिक उल्टो भएको छ। पहिलाको कामलाई निरन्तरता दिनु त कता–कता उल्टो दिनहुँ सवारीसाधनको जाम बढ्दो छ। अव्यवस्थित पार्किङले खुलेआम चुनौती दिइरहेको छ। तर, पनि एसएसपी भट्टराई मौन छन्।

‘१–२ वटा ट्राफिक बत्ती जोडेर काठमाडौं उपत्यकाको व्यवस्थापनमा सहजता हुन्न,’ फिल्डमा खटिने महाशाखाकै एक ट्राफिक प्रहरी जवान भन्छन्, ‘यस्तो गर्नपर्छ भनेर सिकायो भने नेपालीहरु उल्टो–उल्टो काम गर्छन्, त्यसैले कडा भएर कारबाही नगरेसम्म कहिले पनि समस्या समाधान हुँदैन।’

एसएसपी भट्टराई ट्राफिक व्यवस्थापन प्रविधिमा फोकस हुनुपर्ने भन्दै चोकचोकमा ट्राफिक बत्ति राख्नुपर्ने बताउँदै आएका छन्। तर, बत्ती राखेको एक हप्तामै बिग्रने गरेको पाइएको छ।

‘कहिँ बल्छ, कहिँ बल्दैन्। कोही बेला रातो र हरियो सँगै बल्छ,’ ती जवान भन्छन्, ‘नेपाल जस्तो मुलुकमा प्रविधिको कुनै काम छैन्।’

प्रविधिमा फोकस हुनुपर्ने भनेपछि ट्राफिक प्रहरी पनि पहिलेको जस्तो फिल्डमा निस्किँदैनन्। ट्राफिक प्रहरी नदेखेपछि झनै लापरबाही हुने गरेको चालकहरुकै गुनासो छ।

‘कमसेकम एउटा चोकमा ट्राफिक प्रहरी बस्दियो भने जथाभावी ओभरटेक त गर्न पाउँदैनन्,’ बालाजु यातायातका एक चालकले भने, ‘नभए त जताबाट मन लाग्छ त्यतैबाट ओभरटेक गर्ने गर्छ।’

लामो समयसम्म जाम हुने ठाउँमा मात्र होइन, प्रत्येक ठूलोदेखि साना–साना चोकहरुमा ट्राफिक प्रहरीको आवश्यकता छ। ट्राफिक प्रहरी बिना काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्भव छैन।

सीमित ट्राफिक जनशक्ति र उच्च सवारी चापका कारण सवारी व्यवस्थापनमा कठिनाइ भइरहेको महाशाखाले जनाएको छ। विशेषगरी कार्र्यलय जाने–आउने समयमा सडकमा अत्याधिक जाम हुने गरेको महाशाखाका एसपी तथा प्रवक्ता श्यामकृष्ण अधिकारीले स्वीकारे।

सोह्रखुट्टे चोकदेखि बालाजुसम्म हुने गरेको भनिएको अव्यवस्थित पार्किङको समस्या तत्कालै समाधान गर्नेमा महाशाखा लागिपरेको उनले बताए। ‘उक्त स्थानमा मात्र नभएर जहाँ अव्यस्थित पार्किङ गरिएको हुन्छ, तत्कालै कारबाही हुन्छ,’ एसपी अधिकारीले भने।

‘जनशक्तिको अभावमा सबै स्थानमा एकैचोटि ट्राफिक परिचालन गर्न सकिँदैन, बढी भिडभाड भएका स्थानमा हामीले कारबाही गरिरहेका छौं,’ एसपी अधिकारीले भने।

काठमाडौंका मुख्य सडकमा हुने सवारी चाप कम गर्न प्रयोगमा आएका सडक करिडोर पनि जथाभावी पार्किङले अस्तव्यस्त बन्न थालेका छ। उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला र मनोहरा करिडोरसँगै १० वटा खोला किनारको सडकमा स्थानीयले जथाभावी पार्किङ गरिँदा मूल सडकमा जाम बढ्न थालेको हो।

सडक नै जाम हुने गरी पार्किङ गर्ने सवारीधनीलाई कारबाही गर्दै आए पनि अव्यवस्थित पार्किङ गर्ने प्रवृत्ति घट्न नसकेको एसपी अधिकारी बताउँछन्। ‘महाशाखामा एउटै सवारीधनी एक सय ४१ पटक ट्राफिक कारबाहीमा परेको तथ्यांक छ,’ उनले भने।

अव्यवस्थित पार्किङबाट दैनिक तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना संकलन गरिँदै आएको महाशाखाको दावी छ। उपत्यकामा मात्रै दैनिक पाँच सयभन्दा बढी सवारी अव्यवस्थित पार्किङ गरिएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। तर, पार्किङको अवस्था ज्यूँको त्यूँ नै छ।

यसरी कारबाही भइरहँदा पनि ट्राफिक प्रहरीले कराउँदा चालकहरु टेरपुच्छर लगाउँदैनन्। अवस्था यस्तो भइसक्यो कि अबको केही महिनापछि सवारीसाधन चालकहरुले ट्राफिक प्रहरी नियम नै बिर्सन सक्छन्।

राजधानीका सडकमा दैनिक १३ लाख बढी सवारी गुडछन्। बागमती अञ्चलमा ११ लाख ७० हजार सवारीसाधन दर्ता छन्। सडक भने दुई सय किलोमिटर मात्र छ। उपत्यकामा ट्राफिकको दरबन्दी १ हजार ४५० छ। ड्युटीमा खटिँदा एक प्रहरीले कम्तीमा १० हजार सवारीसाधनको अनुगमन गर्नुपर्छ।

प्रतिक्रिया