

आफ्नै कर्मचारीलाई यौन धन्दामा लगाउने ७२ वर्षीय बृद्ध प्रहरीको नियन्त्रणमा

काठमाडौं – गेस्ट हाउसको नाममा नराम्रो क्रियाकलाप गराउने एक सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले केही दिन अघि मात्र गेस्ट हाउसको नाममा यौन धन्दा कारोबार गराउने ७२ वर्षीय सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
ब्युरोको टोलीले ललितपुर गोदावरी नगरपालिका घर भएका ७२ वर्षीय दीपबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले काटेश्वरमा दीपलक्ष्मी गेस्टहाउस सञ्चालन गर्दै आएका थिए।
पीडित पक्षले उनका विरुद्ध जवर्जस्ती यौन क्रियाकलाप गर्न लगाएको उजुरी दिएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको ब्युरोका एसपी अनुराग कुमार द्विवेदीले जानकारी दिए।
एक महिलाले फेसबुकबाट चिनजान गरी राम्रो काम लगाइदिने भन्दै गेस्टहाउसमा पुर्याएर श्रेष्ठको जिम्मा लगाएकी थिइन्। त्यसपछि श्रेष्ठले ती महिलालाई सुरुमा वेटरको काम गर्ने लगाएका थिए।
त्यसपछि बिस्तारै होटेलमा बस्न आउने ग्राहकहरू सँगै बसेर खाना खाने बिल धेरै उठाउने भन्दै काम लगाए र ग्राहकहरू सँग दुई हजार देखि पैँतीस सयसम्म लिई जबरजस्ती शारीरिक सम्पर्क राख्न लगाएको पीडितले प्रहरीमा उजुरी दिएकी छिन्।
श्रेष्ठ विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

