पूर्वराजाको स्वदेश फिर्तीमा वीर गोर्खालीको उद्घोष – ‘सडकमा मोटरसाइकल र्‍याली, हेलिकप्टरबाट पुष्पवृष्टि’


काठमाडौं – करिब १० दिन लामो भारत यात्रापछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार नेपाल फर्किँदैछन्। भ्रमणमा रहँदा राजाकै रूपमा ठूलो सम्मान पाएका राजा ज्ञानेन्द्र भोली आइतबार नेपाल फर्किँदैछन्।

पुर्वराजाको काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित मोटरसाइकल र्‍यालीले विमानस्थलदेखि निर्मल निवाससम्म स्कर्टिङ गरिने बताइएको छ।

पछिल्लो समय राजसंस्थाको माग गर्दै देशव्यापी मोटरसाइकल र्‍याली गरेको वीर गोर्खाली अभियानले ५ गते दिउँसो शाह नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा उत्रँदा भव्य स्वागतको तयारी गरेको छ।

अभियानले राष्ट्रिय झण्डासहित विमानस्थलमा उपस्थित हुन पनि सबैमा आव्हान गरेको छ। वीर गोर्खाली अभियन्ता श्यामकृष्ण श्रेष्ठले महाराजधिराज सरकारको फिर्ती सवारीमा मोटरसाइकल र्‍यालीसहित स्वागतको निमित्त हेलिकप्टरद्वारा पुष्पवृष्टि समेत गरिने बताए।

उनले भने, ‘पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको अपरिहार्यता नेपाली जनताले बुझेको स्मरण गर्दै त्यसबाट आत्तिएका र जातीय तथा धार्मिक द्वन्द्व भड्काउन लागीपरेका केही व्यक्तिहरुले गलत टिप्पणी गरेका छन् त्यसको जवाफ समय आएपछि दिन्छौं।’

आयोजकले नागरिक स्तरबाट गरिन लागेको अभिनन्दन एवम राजा–जनता साक्षात्कार कार्यक्रममा उपस्थिति जनाउन वैशाख ५ गते आइतबार दिउँसो २ बजे ‘वनकाली गौशाला जाऔं’ भन्दै नेपालमा राजसंस्था पुनःस्थापना एवम नेपाललाई हिन्दु अधिराज्य पुनर्स्थापना भएको हेर्न चाहने सम्पूर्ण व्यक्तिलाई उपस्थितिको निम्ति आह्वान समेत गरेको छ।

पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो। रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गरेका थिए।

अभियन्ता श्रेष्ठले भने, ‘विदेश भ्रमणमा राजाले पाउने सम्मान र राष्ट्रपतिले पाउने सम्मानबाट पनि राष्ट्रिय स्वाधीनता राजसंस्थाबाट मात्रै जोगिन्छ भन्ने स्पष्ट भएको छ।’

उता पुर्वराजाले भारतीय भूमिमा पत्रकारहरुसँगको भेटमा हिन्दी भाषामा सोधिएको प्रश्नको जवाफ नेपालीमा दिएका थिए भने धार्मिक सम्बोधन समेत नेपालीमा गरेका थिए।

यता प्रचण्डले भारतलाई रिझाउन हिन्दिमा भाषण गर्न लाग्नु र राजाले भारतीय भूमिमा हिन्दी बुझ्दिन भन्नूलाई सामाजिक सञ्जालमा तुलना गर्न थालिएको छ।

प्रतिक्रिया