
हेटौंडामा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
मकवानपुर — विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् ।
कक्षा ८मा अध्ययनरत एक विद्यार्थीलाई कक्षा कोठाभित्रै कुटपिट गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका– ७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा सामाजिक शिक्षा विषय अध्यापन गराउने शिक्षक ४५ वर्षीय अच्युत ओझा शुक्रबार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका ओझालाई बालबालिकाविरुद्धको कसुरसम्बन्धी मुद्दामा जाहेरी परेपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार गत जेठ ७ गते दिउँसो कक्षाकोठाभित्रै १२ वर्षीय विद्यार्थीलाई कुटपिट गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जेठ १६ गते जाहेरी दर्ता भएपछि प्रहरी टोली खटिएको थियो । सोही दिन साँझ करिब ६ः४५ बजे शिक्षक ओझालाई हेटौँडा– ६, पुतलीबजारस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका विद्यार्थीको हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको टाउकोमा चोट लागेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



कागजपत्र |
