धुलिखेल–खावा सडक कालोपत्रे अन्तिम चरणमा, निर्माण सामग्री अभावले काम प्रभावित


काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगे पनि निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ।

लामो समयदेखि धुलो, हिलो र जामको समस्या भोग्दै आएका स्थानीयवासी तथा यात्रुहरू सडक निर्माण सम्पन्न हुने अपेक्षामा रहे पनि पछिल्ला केही सातायता कामको गति सुस्त देखिएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रे कार्य सुरु गरिएको हो। करिब ४ किलोमिटर लम्बाइ रहेको सडकखण्डमध्ये पहिलो चरणमा २.५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी १.५ किलोमिटर खण्डमा दोस्रो चरणअन्तर्गत काम गरिनेछ।

यसअघि २०७९ जेठ २० गते २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो। तर निर्धारित समय सकिएको ११ महिनासम्म पनि काम पूरा नभएपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो।

त्यसपछि नेपाल सरकारबाट ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो। नयाँ ठेक्का प्राप्त निर्माण कम्पनीले मनसुनअघि नै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

निर्माण पक्षका अनुसार ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस राखेर डिबिएम र अस्फाल्टको दुई तहमा कालोपत्रे गरिएको छ। हालसम्म अधिकांश भागमा बेस, सब–बेस तथा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ।

धुलिखेल बजार क्षेत्रदेखि खावा आसपाससम्म मुख्य खण्डमा कालोपत्रे भइसकेको छ भने केही स्थानमा अन्तिम तहको कालोपत्रे, नाली निर्माण, सडक किनार व्यवस्थापन र लेन मार्किङका काम बाँकी रहेका छन्। तर बिटुमिन, क्रसिङ सामग्रीलगायत आवश्यक निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएपछि अन्तिम चरणका काम प्रभावित बनेका छन्।

पछिल्लो समय निर्माणस्थलमा उपकरण र कामदारको उपस्थिति समेत घटेको स्थानीयवासीले बताएका छन्। यसले सडक छिट्टै सम्पन्न हुने अपेक्षा गरेका स्थानीयलाई निराश बनाएको छ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको महत्वपूर्ण भाग रहेको यो सडक काठमाडौं उपत्यकाबाट पूर्वी नेपाल जाने प्रमुख प्रवेशमार्ग पनि हो। निर्माणमा ढिलाइका कारण यात्रु, व्यवसायी र स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।

निर्माण पक्षले सामग्री आपूर्ति सहज भएपछि बाँकी कामलाई तीव्रता दिने जनाएको छ। मनसुनअघि काम सम्पन्न गर्ने लक्ष्य रहे पनि हालको सामग्री अभावले उक्त योजना प्रभावित हुन सक्ने देखिएको छ।

यद्यपि अधिकांश खण्डमा कालोपत्रे सम्पन्न भइसकेकाले सडकको अवस्था पहिलेको तुलनामा सुधारिएको छ। तर बाँकी काम नहुँदा केही स्थानमा यात्रुहरूले अझै असहजता भोग्नुपर्ने अवस्था रहेको छ। स्थानीयले निर्माण सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्दै बाँकी काम शीघ्र पूरा गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया