घुस प्रकरणमा बयान फेरेपछि तीन जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार घुस/रिसवत सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए ।

अनुसन्धानबाट उनीहरूले प्रतिवादी ढुण्डिराज दाहाललाई भुक्तानी प्रक्रिया सहज गराइदिने भन्दै घुस दिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

अख्तियारका अनुसार विप्लव पोख्रेलले विभिन्न कम्पनीका तर्फबाट ५६ हजार ३५० रुपैयाँ, प्रल्हाद गौतमले ३७ हजार ५०० रुपैयाँ र राजेश श्रेष्ठले २७ हजार ३५० रुपैयाँ घुस दिएको खुलेको छ ।

उनीहरूविरुद्ध घुस दिएको रकम बराबर बिगो कायम गरी कैद, जरिवाना तथा बिगो जफतको मागदाबी गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया