प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान


काठमाडौं –  विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म प्रतिनिधिसभा चल्न नदिने अडान लिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले बोल्न समय दिएका थिए ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् । एमाले प्रमुख सचेतक ऐन महरले संवैधानिक र कानुनी व्यवस्थाअनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने धारणा राखे ।

नेपाल कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री केहीबेर भए पनि संसद्मा आएर रोष्ट्रमबाट धारणा राख्नुपर्ने बताए ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संसद्मा स्थापित हुने नजिर र आगामी पुस्तालाई जाने सन्देशबारे सबै गम्भीर हुनुपर्ने बताए । उनले प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन तयार नभएसम्म विरोध जारी रहने चेतावनी दिए ।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले पनि प्रधानमन्त्रीको उपस्थितिका लागि सत्तारुढ दलले पहल लिनुपर्ने बताइन् ।

प्रतिक्रिया