
अनलाइन बेटिङ र ठगीमा संलग्न शिक्षकसहित तीन जना पक्राउ
काठमाडौं- जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनलाइन बेटिङ सञ्चालन गर्ने तथा बैंक खाताको दुरुपयोग गरी ठगीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक शिक्षक समेत रहेका छन्।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचना र प्राविधिक विश्लेषणका आधारमा बुधबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का ३९ वर्षीय शिक्षक महेन्द्रकुमार बोहोरा, ४२ वर्षीय व्यवसायी यामलाल विक र ४४ वर्षीय होटल व्यवसायी डम्बरबहादुर विक रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बोहोराले विभिन्न बैंकमा ६ वटा खाता सञ्चालन गरी दुई करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार गरेको खुलेको छ। यस्तै, यामलालले पाँच वटा र डम्बरले नौ वटा बैंक खाता खोली शंकास्पद आर्थिक कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जाल र इन्टरनेटमार्फत सर्वसाधारणलाई प्रलोभनमा पारेर अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने उद्देश्यले ती बैंक खाताहरू प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका तीनै जनामाथि बैंकिङ कसुर, जुवा–सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मोहनजंग बुढाथापाले जानकारी दिए।
उनीहरूलाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
