नेपालले पायो २४४ रनको लक्ष्य


काठमाडौं — आईसीसी लिग –२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जितका लागि २४४ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रनको योगफल तयार गरेको थियो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले ६२ बलमा १२ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । पहिलो विकेटका लागि अर्का ओपनर फिन्ले म्याक्रेथसँग मिलेर ११४ रनको साझेदारी गरे ।

ओपनरले शतकीय साझेदारी गर्दै नेपाललाई खराब स्थितीमा पुर्याएकामा २१औं ओभरमा सन्दीप लामिछानेले साझेदारी तोडेका थिए । सन्दीपले २१औं ओभरमा दुवै ओपनरलाई आउट गराएर नेपाललाई खेलमा फर्काएका थिए । त्यसपछिका आफ्नो २ ओभरमा लगातार २ विकेट लिदै सन्दीपले नेपालको पकटमा खेल ल्याएका थिए ।

त्यसपछि नेपालले अर्को १४ ओभर विकेट निकाल्न सकेन । स्कटल्याण्डका माइकल इङ्लिस र म्याथ्यु क्रसले त्यसबिचमा ४३ रनको साझेदारी गरे । क्रसलाई १८ रनमा आउट गर्दै करण केसीले विकेटको लामो पर्खाइ पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरीले १ रनमा जीवनदान दिएका मार्क वाट १८ बलमा २४ रन जोड्दै करण केसीबाट आउट भए ।

करियरको दोस्रो ओडिआई खेलिरहेका माइकल इङ्लिस ७२ बलमा ३४ रनमा अविजित रहँदा माइकल लिस्क २९ रन बनाउँदै आउट भए । नेपालका लागि नन्दन यादवले अन्तिम ओभरमा २ विकेट लिदै १ रन मात्र खर्चिए ।

नेपालका लागि सन्दीपले १० ओभरमा ३३ रन खर्चिएर ४ महत्वपुर्ण विकेट लिए । करण केसी र नन्दन यादवले समान २ विकेट आफ्नो नाममा गरे । यस त्रिकोणात्मक शृङ्खलामा नेपाल र स्कटल्याण्ड सहित अमेरिका पनि रहेको छ । ८ टोली सहभागी लिग २ मा स्कटल्याण्ड ३४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । नेपाल १८ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया