
नेकपा संसदीय दल बैठकमा सरकारका पछिल्ला कदममाथि छलफल
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गरिएको छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आगामी बजेट अधिवेशनमा सरकारका पछिल्ला कदमका विषय संसद्मा उठाउने निर्णय गरेको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
उनका अनुसार बैठकमा सुकुम्बासी समस्याको प्रभावकारी समाधान, संसद् छलेर ल्याइएका अध्यादेश, प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा रहेका प्रावधान तथा प्रधानन्यायाधीश नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको थियो ।
“सुकुम्बासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने, संसद् छलेर ल्याएको अध्यादेशको विषय, प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा रहेका गलत प्रावधानमाथि संशोधन पेश गर्ने तथा प्रधानन्यायाधीश नियुक्तिको विषयलगायतमा गहन छलफल र निर्णय भएका छन्,” प्रमुख सचेतक दुलालले भने ।
बैठकमा सरकारको कामकारबाहीलाई संसद्मार्फत प्रभावकारी रूपमा उठाउने रणनीतिबारे पनि छलफल भएको बताइएको छ ।



कागजपत्र |
