
घुस लिएको आरोपमा प्रहरीका सईविरुद्ध मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीविरुद्ध शुक्रबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार सई राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिलापत्र गराइदिने तथा जाहेरवालाको रकम फिर्ता दिलाउन सहयोग गर्ने बहानामा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए। विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै उनले रकम लिएको आयोगको दाबी छ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट सेवाग्राहीलाई दुःख हैरानी दिई घुस लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो २० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।



कागजपत्र |
