बैतडीमा प्रधानाध्यापकलाई कालोमोसो दल्ने चार जना पक्राउ


बैतडी- प्रधानाध्यापकमाथि कालोमोसो दल्दै जुताको माला लगाएर सार्वजनिक रूपमा अपमान गरेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको आरोपमा महिलासहित चार जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।

पक्राउ पर्नेमा ३८ वर्षीया तारा महता, उनका श्रीमान् प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रहरीले चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्ने जनाएको छ । घटनामा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने डीआईजी रानाले बताए ।

प्रहरीका अनुसार तारा महताले पिपलकोट माध्यमिक विद्यालयमा शिक्षक पदका लागि परीक्षा दिएकी थिइन् । उनलाई जागिर दिलाउन प्रधानाध्यापकमाथि आर्थिक प्रलोभनसहित दबाब दिइएको आरोप छ ।

तर प्रारम्भिक परीक्षामै असफल भएपछि आक्रोशित बनेको महता परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दलेर जुताको माला लगाउँदै सार्वजनिक रूपमा अपमान गरेका थिए । उनीहरूले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ लेखिएको पम्प्लेटसमेत झुन्ड्याएका थिए ।

घटनाको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया