पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा


काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता तथा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार दायर गरेको आरोपपत्रमा नियमविपरीत ठेकेदार कम्पनीलाई राजश्व छुट दिई राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको उल्लेख गरिएको छ ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उक्त प्रकरणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

मुद्दामा पूर्वअर्थमन्त्री कार्कीसँगै तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव तथा तत्कालीन सहसचिव केवल भण्डारीलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्यालमाथि पनि भ्रष्टाचारको अभियोग लगाइएको छ ।

अख्तियारले विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी, कम्पनीका अध्यक्ष, परियोजना व्यवस्थापक तथा कम्पनी म्यानेजरलाई समेत प्रतिवादी बनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा अख्तियारले दायर गरेको यो तेस्रो मुद्दा हो । यसअघि पनि आयोगले गत २१ मंसिर र ८ चैतमा सोही प्रकरणमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया