
वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी, चार जना पक्राउ
काठमाडौं- आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर सूर्यविनायक नगरपालिका–७ की ५५ वर्षीया सुनिता खत्री रहेका छन्।
प्रहरीका अनुसार मिथिलेश कुशवाहाले कुवेत पठाइदिने भन्दै एक व्यक्तिबाट तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए भने केदारबहादुर भण्डारीले पोर्चुगल पठाइदिने भन्दै एक लाख २५ हजार रुपैयाँ लिएर फरार भएका थिए।
त्यस्तै, रामतुला मियाँ र सुनिता खत्रीले अल्बानिया पठाइदिने आश्वासन दिँदै अर्को व्यक्तिबाट तीन लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन बनेका थिए। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए। यो घटनाले वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीका श्रृंखलालाई फेरि उजागर गरेको छ।



कागजपत्र |
