सिरहा कारागारमा फेरि तनाव: २२ कैदी नियन्त्रणमा, प्रशासन कब्जा प्रयासको आरोप


सिरहा- सिरहा कारागारभित्र पुनः विवाद चर्किएपछि सुरक्षा निकायले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास भएको आरोपमा उनीहरूलाई आज बिहानै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदी समूहले जबर्जस्ती पदबाट हटाउँदै आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिने प्रयास गरेका थिए। उक्त घटनापछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको थियो।

सुरक्षा अवस्था बिग्रिन सक्ने जोखिम देखिएपछि प्रहरीले बिहानै कारागारमा ‘अप्रेसन’ सञ्चालन गरी २२ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न उक्त कदम चालिएको बताए। “केही कैदीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। थप झडप हुन नदिन २२ जनालाई नियन्त्रणमा लिइएको हो,” उनले भने।

उनका अनुसार नियन्त्रणमा लिइएका कैदीबन्दीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।

यसअघि गत माघ महिनामा पनि सिरहा कारागारभित्र ठूलो घटना भएको थियो। त्यतिबेला कारागारभित्र कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो। उक्त घटनाको विरोधमा कैदीबन्दीले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए।

 

प्रतिक्रिया