
खुर्कोट प्रहरी हिरासतमा २२ वर्षीय युवकको मृत्यु
सिन्धुली- सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ। प्रहरीले उनलाई थुनुवा कक्षमै आत्महत्या गरेको दाबी गरेको छ भने परिवारले प्रहरीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
वैशाख ३ गतेदेखि हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षमै आत्महत्या गरेको प्रहरीको भनाइ छ। घटना हुँदा उनी एक्लै थुनुवा कक्षमा रहेको बताइएको छ।
काठमाडौंमा सवारी चालकको काम गर्दै आएका विकले खोटाङकी १७ वर्षीया युवतीसँग चैत २८ गते प्रेम विवाह गरेका थिए। तर, युवती नाबालिग रहेको भन्दै परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि उनलाई पक्राउ गरी पछि खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदेखि हिरासतमा रहेका थिए।
परिवारका अनुसार उमेरको विवाद देखाइए पनि मुद्दाको मुख्य कारण अन्तरजातीय विवाह भएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीका अनुसार हिजो साँझ करिब ६ बजे श्रीकृष्णले आत्महत्या प्रयास गरेको जानकारी प्राप्त भएको थियो। त्यसपछि उनलाई तत्काल सुनकोसी सामुदायिक अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि सिन्धुली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी पाएपछि परिवारलाई साँझ नै खबर गरिएको प्रहरीले जनाएको छ। हाल मृतकको शव सिन्धुली अस्पतालमा राखिएको छ।
घटनाको सत्यतथ्य छानबिनको माग गर्दै परिवारले इलाका प्रहरी कार्यालय खुर्कोटमा दबाब दिएका छन्। उनीहरूले प्रहरी हिरासतभित्र भएको घटनामा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।



कागजपत्र |
