
काठमाडौंमा २४ घण्टामा ३,५०१ चालक कारबाहीमा, २५ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ५०१ सवारी चालकलाई कारबाही गरेको जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७७ जना, सवारी चलाउने अवस्था ठिक नभएका ६९ जना, रातो बत्ती उल्लंघन गर्ने १५८ जना र तीव्र गतिमा सवारी चलाउने ८९ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै लेन मिच्ने १७२, ढोका खुल्लै राखेर सवारी चलाउने ५७, ‘नो हर्न’ क्षेत्र उल्लंघन गर्ने ७७ तथा यात्रु ओराल्ने–चढाउने नियम उल्लंघन गर्ने ५५ जना चालकलाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न कसुरमा २ हजार ७४७ जना कारबाहीमा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २४ घण्टाको अवधिमा गरिएको उक्त कारबाहीबाट कुल २५ लाख १५ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।



कागजपत्र |
