
दुईपटक ‘पुलिस अफ द मन्थ’ बनेका वरिष्ठ सई जबरा किन भए निलम्बित ?
जनकपुरधाम – उत्कृष्ट अनुसन्धान र कार्यसम्पादनका आधारमा दुईपटकसम्म ‘पुलिस अफ द मन्थ’ घोषित भएका प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर जबरा अहिले भने गम्भीर आरोपमा निलम्बनको प्रक्रियामा परेका छन्। जबरालाई पहिलो पटक २०८२ साल असार महिनामा र दोस्रो पटक २०८२ साल मङ्सिर महिनामा उत्कृष्ट प्रहरीको उपाधिबाट सम्मान गरिएको हो ।
प्रहरी उपरीक्षक नरहरि रेग्मीले त्यतिबेला जबराको कार्यसम्पादनलाई प्रशंसा गर्दै उनको व्यावसायिक दक्षता, इमानदारी र कर्तव्यनिष्ठा संगठनका लागि उदाहरणीय रहेको बताएका थिए।
तर, यिनै सई जबरा अहिले भने प्रहरी आचरण विपरीत कार्य गरेको आरोपमा कारबाहीको दायरामा आएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार जबराले आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनलाई विवादमा तान्ने उद्देश्यले ‘नक्कली अडियो’ तयार पारेका थिए। उनले एक व्यापारीलाई फोन गरी बनावटी कथा रचेर अडियो तयार पारेर त्यसलाई सञ्चार माध्यममार्फत सार्वजनिक गराएको आरोप छ।
सहायक प्रवक्ता तथा प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार उक्त कार्य प्रहरी नियमावली २०७१ (संशोधन सहित) विपरीत भएकाले जबरामाथि निलम्बनको प्रक्रिया अघि बढाइएको हो। घटनाबारे विस्तृत छानबिन भइरहेको र सत्यतथ्य चाँडै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
यो घटनाले अर्को विवादलाई पनि सतहमा ल्याएको छ। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियामाथि ‘घुमुवा प्रहरी’मार्फत पैसा असुली हुने गरेको आरोप सार्वजनिक भएपछि स्थिति थप जटिल बनेको हो। एक स्थानीय व्यापारीले डीआईजीकै नाममा रकम बुझाएको दाबी गरेका छन्।
उक्त विषय बाहिर ल्याउन प्रयोग गरिएको अडियोमा सई जबराकै संलग्नता रहेको बताइए पनि प्रदेश प्रहरीले त्यसलाई ‘फेक’ भन्दै अस्वीकार गरेको छ। यही प्रकरणपछि जबरामाथि नै कारबाही अघि बढाइएको हो।




कागजपत्र |
