काठमाडौं प्रहरीद्वारा २०० ‘गुण्डा’को सूची तयार, सूचना दिन आग्रह


काठमाडौं-  काठमाडौं प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा युवाहरूको सूची तयार पारेको जनाएको छ। साथै, गुण्डागर्दी वा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले त्रास फैलाए तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि भएका गतिविधिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले यस्तो जानकारी दिएका हुन्।

प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत समूह प्रदर्शन गर्ने, अनावश्यक तडकभडक देखाउने र नागरिकमा त्रास सिर्जना गर्ने युवाहरूको पहिचान गरी सूची बनाइएको छ। यस्तो गतिविधिमा संलग्न अधिकांश व्यक्ति गुण्डागर्दी समूहसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

प्रहरीले करिब २०० जनाको विस्तृत प्रोफाइल तयार गरेको छ। यसमा पटक–पटक पक्राउ परेका, मुद्दा खेपेका र सामाजिक सञ्जालमार्फत समूह विस्तार तथा प्रचारमा सक्रिय व्यक्तिहरू समेटिएका छन्।

प्रोफाइलिङ गरिएका व्यक्तिहरूका विभिन्न विवरण र कागजात पनि प्रहरीले संकलन गरेको छ। केही दिनअघि सञ्चालन गरिएको ‘अपरेसन सेफ्टी’ अभियानअन्तर्गत ३३ जना युवालाई गुण्डागर्दीमा संलग्नताको आरोपमा पक्राउ गरिएको थियो। तीमध्ये १३ जना बुधबार धरौटीमा छुटे पनि उनीहरू अझै प्रहरी निगरानीमै रहेको जनाइएको छ।

प्रतिक्रिया