गगन थापा नेतृत्वलाई कांग्रेसको आधिकारिकता


काठमाडौं-  नेपाली कांग्रेसको आन्तरिक विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक ठहर गरेको हो।

यो निर्णयसँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले गर्ने सबै कामकारवाहीले निरन्तर मान्यता पाउने भएको छ। यसअघि निर्वाचन आयोगले सो समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्का समूह सर्वोच्च पुगेका थिए।

देउवा पक्षले विशेष महाधिवेशन पार्टी विधानविपरीत भएको दाबी गर्दै आयोगको निर्णय खारेज गर्न माग गरेको थियो। साथै, उनीहरूले आफूहरू नै वैध नेतृत्व भएको जिकिर गर्दै थापा समूहलाई कामकारवाही गर्न रोक लगाउन अन्तरिम आदेशको माग गरेका थिए। तर अदालतले प्रारम्भमै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

अदालतको पछिल्लो फैसलासँगै देउवा समूहको दाबी अप्रत्यक्ष रूपमा खारेज भएको छ भने कांग्रेसको नेतृत्व विवादमा कानुनी स्पष्टता आएको छ।

यस मुद्दामा दुवै पक्षका वरिष्ठ कानुन व्यवसायीहरूले बहस गरेका थिए।

प्रतिक्रिया