संसदीय समितिका सभापतिहरूले लिए शपथ


काठमाडौं-  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजित समारोहमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ दिलाएका हुन्। कार्यक्रममा उपसभामुख रुबी कुमारी ठाकुर र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको पनि उपस्थिति रहेको थियो।

शुक्रबार बसेका सम्बन्धित समितिहरूको बैठकबाट सभापतिहरू चयन भएका थिए। अधिकांश समितिमा सभापति निर्विरोध चयन भएका छन् भने केहीमा निर्वाचनमार्फत नेतृत्व टुंग्याइएको थियो।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारी निर्विरोध चयन भएका थिए।

त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका छन्। निर्विरोध निर्वाचित भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका छन् भने खड्का नेपाली कांग्रेसका हुन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भने निर्वाचन भएको थियो, जसमा रास्वपाकी डा. ओजस्वी शेरचन एमालेका गुरु बराललाई पराजित गर्दै निर्वाचित भइन्।

यस्तै, संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की निर्वाचित भएका छन्। उक्त पदका लागि कार्की र नेकपाकी मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया