झुट्टा प्रतिवेदनमा ७२ लाख भ्रष्टाचार, पूर्व सचिवसहित १६ जनाविरुद्ध मुद्दा


काठमाडौं- शीतभण्डार निर्माणमा झुट्टा कार्यसम्पादन प्रतिवेदन तयार गरी करिब ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत शीतभण्डार निर्माणका लागि नौ सहकारी संस्थाले लगानी गर्ने निर्णय गरिएको थियो । सम्झौताअनुसार ५०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गर्ने योजना थियो । तर परामर्श, नापजाँच, डीपीआर तथा मूल्यांकनमा अस्वाभाविक लागत देखिएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार खुला प्रतिस्पर्धाविनै डीपीआरलगायत कागजात स्वीकृत गरी सोझै खरिद गरिएको थियो । आवश्यक परीक्षण र कानुनी प्रक्रिया नअपनाई बद्‌नियतपूर्वक ७१ लाख ९७ हजार ९८० रुपैयाँ ६ पैसा भुक्तानी गरिएको दाबी गरिएको छ ।

अनुसन्धानका क्रममा निर्माण गरिएको शीतभण्डार जीर्ण र प्रयोगविहीन अवस्थामा भेटिएको जनाइएको छ । अनुदान कार्यक्रमअन्तर्गत नै व्यापक अनियमितता भएको आरोप अख्तियारको छ ।

मुद्दामा तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत, कृषि प्रसार अधिकृत, लेखा अधिकृत, सह–लेखापाल तथा विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक र फर्म सञ्चालकसमेत गरी १६ जना प्रतिवादी बनाइएका छन् ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विगो असुल, जरिबाना र कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया