सरकारी अभिलेख हेरफेर गरी लाइसेन्स वितरण, तीन जनाविरुद्ध आरोपपत्र


काठमाडौं-  नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन कर्मचारीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार कास्कीस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा र कम्प्युटर अपरेटर जगत ढकालले सेवाग्राही हिमबहादुर बस्नेत थापासँग मिलेमतो गरी सरकारी अभिलेखमा हेरफेर गरेका थिए।

अनुसन्धानबाट उनीहरूले कहिल्यै जारी नभएको पुरानो लाइसेन्स नम्बर (डीएल ०८–४२४८२) प्रयोग गरी विद्युतीय अभिलेखमा गैरकानुनी रूपमा विवरण थपघट गरेको पुष्टि भएको छ।

बस्नेतको नाममा ए र बी वर्गको लाइसेन्स २० वर्षअघि नै जारी भएको देखाउने उद्देश्यले २०५८ चैत २७ गतेको जारी मिति र २०७८ चैत २२ गतेको म्याद समाप्ति मिति राखी झुट्टा विवरण प्रविष्ट गरिएको पाइएको छ। सोही आधारमा २०७८ चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत जारी गरिएको थियो।

सरकारी कागजात र डिजिटल अभिलेखमा हेरफेर गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले थापा, ढकाल र बस्नेतलाई प्रतिवादी बनाउँदै सजायको मागसहित शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार कार्यालयको गोप्य अभिलेखमा अनधिकृत पहुँच पुर्‍याई व्यक्तिगत लाभका लागि लाइसेन्स वितरण गर्नु सुशासनविरुद्धको गम्भीर अपराध हो।

प्रतिक्रिया