शिक्षण अस्पतालमा मेडिकल प्रतिनिधिको प्रवेशमा कडाइ


काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अस्पताल परिसरभित्र मेडिकल प्रतिनिधिहरुको प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ।

अस्पताल प्रशासनले सोमबार एक सूचना जारी गर्दै ओपीडी, आकस्मिक कक्ष तथा वार्डहरूमा औषधि तथा औषधिजन्य सामग्रीका कम्पनीका प्रतिनिधिहरूको अनावश्यक गतिविधिका कारण बिरामी उपचार सेवामा असहजता भएको गुनासो बढेको जनाएको छ।

सूचनाअनुसार वैशाख १ गतेदेखि कार्यालय समयभित्र औषधि बिक्री–वितरण उद्देश्यले मेडिकल प्रतिनिधिहरूलाई अस्पताल परिसरभित्र प्रवेश गर्न नदिने व्यवस्था लागू गरिनेछ।

अस्पतालका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा बिरामी तथा उनीहरूका आफन्तबाट सेवा प्रवाह प्रभावित भएको गुनासो आएको उल्लेख गरिएको छ।

अस्पताल प्रशासनले यो निर्णय सम्बन्धित सबै विभाग, शाखा, वार्ड, ओपीडी र युनिटहरूलाई जानकारी गराउँदै कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया