
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बझाङ घर भई ललितपुर बस्दै आएका २१ वर्षीय नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने २७ वर्षीया दर्शना भण्डारी र रौतहट घर भई भक्तपुर बस्ने ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन्।
प्रहरीका अनुसार नरेन्द्रले बुल्गेरिया पठाइदिने बहानामा तीन जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख रुपैयाँ असुलेकी थिइन्। कुसवाहाले भने बेलायत पठाउने भन्दै एक व्यक्तिबाट ४५ लाख १६ हजार ८९१ रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीपछि प्रहरीले उनीहरूको खोजी गर्दै विशेष अभियान सञ्चालन गरेको थियो। सोही क्रममा नरेन्द्रलाई मंगलबार काठमाडौँको भोटेबहालबाट पक्राउ गरिएको हो भने दर्शना र कुसवाहालाई बुधबार क्रमशः ललितपुरको महालक्ष्मी र काठमाडौँको दरबारमार्ग क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।



कागजपत्र |
