घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर


काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूको बिल भुक्तानी गरिदिने क्रममा घुस लिएको सूचनाका आधारमा टंगालबाट खटिएको टोलीले दाहाललाई नगदसहित नियन्त्रणमा लिएको थियो। उनलाई कार्यकक्षमै लुकाइराखिएको अवस्थामा १ लाख २० हजार ८५० रुपैयाँसहित पक्राउ गरिएको जनाइएको छ।

अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी प्रक्रिया अघि बढाउँदा गैरकानुनी लाभ लिन योजनाबद्ध रूपमा विभिन्न कम्पनी तथा फर्मका प्रतिनिधिसँग मोलमोलाइ गरी घुस लिने–दिने सर्तमा काम गरेको पुष्टि भएको आयोगले जनाएको छ।

सेवाग्राहीसँग उनले ९३ हजार ८५० रुपैयाँ घुस लिएको स्थापित भएको उल्लेख गर्दै अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर ठहर गर्दै सोही रकम बिगो कायम गरेको छ।

आयोगले दाहाललाई उक्त बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

प्रतिक्रिया