नेविसंघ केन्द्रीय समितिद्वारा विभागलाई ध्यानाकर्षण, ‘कारागारभित्रको बेथिति र भ्रष्टाचारको छानबिन गराैं’


काठमाडाैं – देशभरका कारागारमा भईरहेको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले कारागार बिभागलाई ध्यानाकर्षण पत्र पेश गरेको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले देशभरका कारागारहरूमा देखिएको चरम बेथिति, अनियमितता र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै बुधबार कारागार विभागका महानिर्देशकसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ ।

नेविसंघका केन्द्रीय सदस्य बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले गृह मन्त्राय अन्तर्गत सञ्चालनमा रहेका कारागारहरूमा कैदीबन्दीहरूको आधारभूत अधिकारसमेत हनन् हुने गरी विभिन्न अनियमितता भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार काठमाडौंस्थित जगन्नाथदेवल कारागारसहित विभिन्न जेलमा कैदीबन्दीहरूबाट अनावश्यक रुपमा आर्थिक असुली गर्ने, औषधि उपचारमा लापरवाही, मानसिक रोगी तथा बिरामी कैदीबन्दीहरूको रकम हिनामिना गर्ने, बन्दीहरुको उचित व्यवस्थापनमा कमजोरी, र नाइके सहनाइके चयन प्रक्रियामा समेत आर्थिक चलखेल भइरहेको आरोप लगाइएको छ ।

नेविसंघले यस्ता गतिविधिमा संलग्न कर्मचारीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन, सम्बन्धित कर्मचारीहरूको बैंक खाता छानबिन गर्न तथा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग गरेको छ। साथै, दोषी प्रमाणित हुनेहरूलाई प्रचलित कानुनअनुसार कडा र उदाहरणीय कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

त्यसैगरी, कारागार ऐन २०७९ बमोजिम गम्भीर फौजदारी अभियोग लागेका कैदीबन्दीलाई चौकीदार, नाइके वा सहनाइके नबनाउन पनि संघले स्पष्ट माग अघि सारेको छ। कैदीबन्दीबाट नाईके सहनाईके बनाईदिन्छु भन्दै असुली गरिएको रकम तत्काल फिर्ता गरिनुपर्ने मागसमेत गरिएको छ ।

नेविसंघले चेतावनी दिँदै भनेको छ – ‘यदि यस्ता गम्भीर विषयमा सरोकारवाला निकायले तत्काल ठोस कदम चालिएन भने कैदीबन्दीहरूको मानवअधिकार संरक्षणका लागि कडा कदम चाल्न नेविसंघ बाध्य हुनेछ ।’

उक्त कार्यक्रममा बोल्दै सिटिईभिटीका केन्द्रीय अध्यक्ष कुम्भराज देउवाले भने देशभरका कैदीबन्दीको रासनपानी खर्च र औषधी उपचारको खर्चमा समेत गिद्धेनजर लगाउने भ्रष्टहरुलाई कानुनी कारबाही नभए नेविसंघले उचित कारबाही गर्ने समेत बताएका थिए । बिभागिय प्रमुखले आफ्नो जिम्मेवारी निर्बाह नगरे गृहमन्त्री सुधन गुरुङ समक्ष ध्यानाकृष्ट गराउने तयारी नेविसंघले गरेको छ ।

 

प्रतिक्रिया