
वैदेशिक रोजगारीको नाममा ३३ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैतडीको दोगडाकेदार गाउँपालिका–५ का वीरेन्द्रबहादुर चन्द र नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१३ का महावीर नाउलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चन्दलाई काठमाडौं महानगरपालिका–१० बाट र नाउलाई काठमाडौं–१२ बाट नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध परेको जाहेरीमा चन्दले १५ लाख रुपैयाँ र नाउले १८ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ।
पीडितलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुलेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।



कागजपत्र |
