वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ४ जना पक्राउ


काठमाडौं –  वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आकर्षक तलबको प्रलोभन देखाएर युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी रकम असुल्ने कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार फिनल्यान्ड पठाउने बहानामा ५७ लाख रुपैयाँ ठगी गर्ने सल्यान कालिमाटी गाउँपालिका–७ का कर्णबहादुर राउत पक्राउ परेका छन्। उनी हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ बस्दै आएका थिए।

यस्तै, माल्टा पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने तनहुँ भानु नगरपालिका–२२ का आनन्द थापा पनि पक्राउ परेका छन्। उनी हाल काठमाडौं नागर्जुन नगरपालिका–९ मा बसोबास गर्दै आएका थिए।

फिनल्यान्ड पठाउने भन्दै ४ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा नवलपरासी (पूर्व) कावासोती नगरपालिका–३ की राधिका पाठक पौडेललाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, सर्बिया पठाउने बहानामा ८ लाख रुपैयाँ ठगी गर्ने मोरङ सुन्दरहरैँचा नगरपालिका–३ का तिलक परियारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका थिए।

पक्राउ परेका चारै जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया