एसईईमा नक्कली परीक्षार्थी पक्राउ, अर्काको प्रवेशपत्र प्रयोग


हेटौंडा – माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

२० चैतमा हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

प्रहरीका अनुसार बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी नक्कली परीक्षार्थीका रूपमा परीक्षा दिन आएका थिए। उनी हाल हेटौंडा स्कूल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको पनि डिएसपी बोगटीले बताए।

उनले हेटौंडा–१२ पदमपोखरी निवासी किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया