
४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ
जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई रंगेहात पक्राउ गरेको छ। स्टिङ अपरेशनमार्फत प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका हुन्।
आयोगका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार अधिकारीलाई धनुषाको लालगढस्थित पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएको हो। कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो।
उक्त निगरानीकै क्रममा अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउ परेका निरीक्षक अधिकारीमाथि थप अनुसन्धान भइरहेको पनि सूचना अधिकारी पोखरेलले जानकारी दिएका छन्।



कागजपत्र |
