रेमिट्यान्समा उच्च वृद्धि, १४ खर्ब ४९ अर्ब ६५ करोड भित्रियो


काठमाडौं-  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीहरूले देशमा पठाएको विप्रेषण (रेमिट्यान्स) उल्लेख्य रूपमा वृद्धि भई रु १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले मात्र वृद्धि भएको थियो। समीक्षा अवधिको फागुन महिनामा मात्र रेमिट्यान्स रु एक खर्ब ८८ अर्ब ६४ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु एक खर्ब ५१ अर्ब १९ करोडभन्दा बढी हो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह ३१ प्रतिशतले बढेर रु १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो वृद्धि दर ७.१ प्रतिशत मात्र थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको रु ११ खर्ब ४९ अर्ब ३० करोडभन्दा बढी हो। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ।

चालु आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो बचत रु १ खर्ब ९७ अर्ब ३ करोड थियो। अमेरिकी डलरमा पनि चालु खाता बचत अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ।

त्यसैगरी, फागुन मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु १० अर्ब ८४ करोड भित्रिएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो लगानी रु ८ अर्ब ४७ करोड थियो। सो अवधिमा शोधनान्तर स्थिति पनि रु ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको रु ३ खर्ब १० अर्ब ३७ करोडभन्दा दोब्बरभन्दा बढी हो।

प्रतिक्रिया