
पर्यटन मन्त्रीको कार्यकक्षमा मोबाइल लैजान निषेध
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरेका छन्। मन्त्रीसँग खिचिएका तस्बिरको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार मन्त्रालय वा विभिन्न भेटघाटका क्रममा खिचिएका सामान्य र सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले आफू मन्त्रीसँग विशेष सम्बन्धमा रहेको दाबी गर्ने गरेका छन्। यस्ता दाबीका आधारमा उनीहरूले सर्वसाधारण र सरकारी निकायबाट फाइदा लिन खोजेको सूचना प्राप्त भएपछि यस विषयमा मन्त्री तथा उनको सचिवालय गम्भीर बनेको हो।
यस्ता गतिविधिलाई नियन्त्रणमा लिन र मन्त्रालयको कार्यसम्पादनलाई थप व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजैदेखि लागू हुने गरी कार्यकक्षभित्र मोबाइल फोनलगायत विद्युतीय उपकरण लैजान प्रतिबन्ध लगाइएको मन्त्री पौडेलले स्पष्ट पारेका छन्। साथै, यस निर्णयका कारण सेवाग्राही, आगन्तुक तथा कर्मचारी वर्गमा पर्न जाने असुविधाप्रति उनले क्षमायाचना समेत गरेका छन्।



कागजपत्र |
