
जब आइजीको भावुक सम्बोधनपछि गृहमन्त्रीले समर्थन गरेर ताली बजाए
काठमाडौं – आज दिउँसो ठीक १ बजे नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखियो। केहीबेरमै गृहमन्त्री सुधन गुरुङको सवारी परिसरमा प्रवेश गर्यो। सुरक्षाकर्मीहरू उच्च सतर्क अवस्थामा तैनाथ थिए। सवारी रोकिनासाथ गृहमन्त्री गुरुङ गाडीबाट ओर्लिए र औपचारिक कार्यक्रम सुरु भयो। त्यस क्रममा प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी अर्पण गर्यो। प्रधान कार्यालयमा उपस्थित उच्च अधिकृतहरू सतर्क मुद्रामा उभिएका थिए, जहाँ औपचारिकता र अपेक्षाको मिश्रण स्पष्ट देखिन्थ्यो।
सलामी ग्रहणपछि गृहमन्त्रीले उच्च प्रहरी अधिकृतहरूसँग संक्षिप्त भेटघाट गरे। त्यसपछि उनी विभिन्न शाखाहरूको निरीक्षणमा निस्किए। अपराध अनुसन्धान शाखादेखि डिजिटल फरेन्सिकसम्म पुग्दा उनले प्रत्येक कक्षमा चासोपूर्वक अवलोकन गर्दै सम्बन्धित अधिकारीहरूसँग जानकारी लिँदै अघि बढे।
निरीक्षणपछि भएको सम्बोधनमा गृहमन्त्री गुरुङले आफ्ना विगतका अनुभव स्मरण गरे। तल्लो दर्जाका प्रहरीसँग काम गर्दा भोगेका अभाव, सीमित स्रोतसाधनमा चिउरा र चाउचाउको भरमा ड्युटी गर्नुपर्ने अवस्था तथा ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यताबारे उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था परिवर्तन हुने बताए। उनले सरकार, पार्टी वा गृह मन्त्रालयबाट अनावश्यक हस्तक्षेप नहुने स्पष्ट पार्दै, यदि कसैले गलत कामका लागि दबाब दिए सिधै आफूलाई जानकारी गराउन आग्रह गरे। “आफ्नै पार्टीका भए पनि नछोड्ने” चेतावनीसमेत उनले दिए।
उनले प्रहरी–नागरिक सम्बन्धलाई “मामा–भान्जा” जस्तो आत्मीय बनाउनुपर्नेमा जोड दिँदै “Respect goes mutual” भन्दै सम्मान दुवैतर्फबाट हुनुपर्ने र अपमान सहन नहुने धारणा व्यक्त गरे। प्रहरीको बोली–व्यवहार सुधार, “service with smile” को अभ्यास र नागरिकसँगको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए।
गुरुङले प्रहरीलाई आधुनिक र सक्षम बनाउने विभिन्न योजनाहरू पनि प्रस्तुत गरे। आपतकालीन अवस्थामा प्रहरी सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने, मेडिकल फर्स्ट रिस्पोन्डर तालिम सञ्चालन गर्ने, ड्रोनमार्फत टियर ग्यास प्रयोग गर्ने तथा दंगा नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री बिना प्रहरीलाई नपठाउने व्यवस्था गर्ने उनले बताए। भीआइपी/भीभीआइपी सवारीका क्रममा ट्राफिक रोकेर नागरिकलाई दुःख नदिन निर्देशन दिँदै बढुवा र सरुवा कार्यसम्पादनका आधारमा मात्र हुने र पहुँच तथा सिफारिसको अन्त्य गरिने उनले स्पष्ट पारे।
त्यसैगरी, प्रहरीको मनोबल बढाउन रासन वृद्धि, राम्रो पोशाक, स्थानीय स्तरमै उत्पादन तथा प्रविधिमैत्री उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। “तपाईंहरू जनताको लागि लड्नुस्, म तपाईंहरूको साथमा छु,” भन्दै उनले तल्लो तहका प्रहरीका लागि आफ्नो ढोका खुला रहने आश्वासन दिए।
कार्यक्रमकै क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पनि सम्बोधन गरे। उनले प्रहरी संगठनभित्र बढ्दो राजीनामा समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै त्यसको समाधान आवश्यक रहेको बताए। संगठनलाई टिकाइराख्न २० वर्षे सेवा अवधिको पुनरावलोकन, सेवा–सुविधा वृद्धि तथा १६ वर्षमै पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले राखे।
सम्बोधनका क्रममा आफ्नो भनाइ राख्दै जाँदा आईजीपी कार्की भावुक बने। “मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो,” भन्दै केही क्षण उनी स्तब्ध भए। हलमा सन्नाटा छायो, उनका आँखा रसाए र आवाज भारी बन्यो, जसले उपस्थित सबैलाई गहिरो रूपमा छोयो।
त्यही बेला गृहमन्त्री गुरुङ अचानक सिटबाट उठे र आईजीपीको सम्बोधनप्रति समर्थन जनाउँदै ताली बजाउन सुरु गरे। त्यसपछि उनले हलमा उपस्थित सबै प्रहरीलाई समेत उभिन संकेत गरे। केही क्षणमै सम्पूर्ण हल उभिएर तालीको गुञ्जायमान माहोल बनेको थियो। त्यो ताली औपचारिक मात्र नभई भावना र समर्थनको प्रतीकजस्तो देखिन्थ्यो। ताली सकिएपछि फेरि हलमा गहिरो सन्नाटा छायो, जसले उक्त क्षणलाई अझ अर्थपूर्ण बनायो।



कागजपत्र |
