जेनजी जनादेशअनुसार देश अघि बढ्छ: गृहमन्त्री गुरुङ


काठमाडौं –  नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै देश अब जेनजीको जनादेशअनुसार अघि बढ्ने बताएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण सम्पन्न गरेलगत्तै सिंहदरबार पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सुशासन आफ्नो मुख्य प्राथमिकता हुने स्पष्ट पार्दै गलत काम गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए। “कम बोल्छु, काम गरेर देखाउँछु,” भन्दै उनले आफू एक्सनमुखी हुने संकेत गरेका छन्।

उनले सेवा प्रवाहलाई सहज बनाउन एकद्वार प्रणाली लागू गर्ने पहिलो निर्णय लिएका छन्। अब नागरिकले एउटै ठाउँमा निवेदन दिएपछि विभिन्न कार्यालय धाउन नपर्ने व्यवस्था गरिने उनको भनाइ छ।

मन्त्री गुरुङले कुनै पनि सेवामा घुस वा अवैध रकम मागिएमा तत्काल जानकारी गराउन नागरिकलाई आग्रह गरेका छन्। साथै, प्रहरी संगठनलाई नियमअनुसार काम गर्न निर्देशन दिँदै भीआईपी लावालस्करका नाममा सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्न चेतावनी दिएका छन्।

सेवा प्रवाहमा गुनासो आउन नदिन कर्मचारीहरूलाई सचेत गराउँदै उनले नागरिकका गुनासाहरू सीधै मन्त्रालयसम्म पुग्ने व्यवस्था मिलाइने बताए।

त्यसैगरी, उनले सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गर्दै टीआरपीको नाममा कसैको चरित्र हत्या नगर्न सचेत गराएका छन्। देश निर्माणको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै उनले आगामी पाँच वर्ष सुशासन स्थापना गर्न पूर्णरूपमा समर्पित भएर काम गर्ने र छिट्टै नतिजा देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया