
मोटरसाइकलसहित हराए प्रहरी जवान टेकबहादुर
कैलाली- कैलालीको अत्तरिया बजारबाट एक प्रहरी जवान सम्पर्कविहीन भएका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउली घर भएका २४ वर्षीय प्रहरी जवान टेकबहादुर साउँद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार साउँद डडेल्धुराबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढीतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएका हुन्।
साउँद से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकलमा यात्रा गरिरहेका थिए। सोमबार अत्तरियामा देखिएका उनी त्यसयता मोटरसाइकलसहित बेपत्ता भएका छन्।
परिवारसँग समेत सम्पर्क नभएपछि उनका आफन्त सुरत तमोलीले बुधबार इलाका प्रहरी कार्यालय मालाखेतीमा खोजीका लागि निवेदन दिएका छन्।
प्रहरीले साउँदको खोजीकार्य तीव्र बनाएको जनाएको छ।



कागजपत्र |
