

०७७ का चर्चित १० काण्डहरू

काठमाडौं– ०७७ मा नेपालमा हत्या, बलात्कार अनि कालोबजारीका कयौं अपारधका घटनाहरु भए।
नक्कली सुनकाण्ड, एसिड प्रकरण, गोगंबु हत्या प्रकरण, पूजारी हत्या प्रकरण, मोरङका शिक्षक हत्याकाण्ड, पर्साका मुकेश चौरसिया हत्याकाण्ड, धादिङ हत्याकाण्डलगायत २०७७ का चर्चित अपराधका घटना हुन्।
केही घटनामा प्रहरी आलोचित समेत बन्यो। ३६५ दिनमा कस्ता कस्ता चर्चित घटना भए? १० काण्ड यस्ता छन्।
१५ किलो सुन
१३ साउनमा प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुईवटा हतियार बरामद गर्यो। सोही दिन आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरीका तत्कालीन प्रमुख, एसएसपी श्याम ज्ञवालीले १५ किलोमध्ये आधा किलोमात्र सुन रहेको बताए। बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको पाइयो।
सुन बोकेको बा६च ५५१९ नम्बरको स्कोर्पियो गाडी सामान फ्याँकेर फरार भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। तर, दुई थान पेस्तोलसहित सुन बरामद हुँदा प्रहरीले गाडी किन बरामद गर्न सकेन भनेर चौतर्फी प्रश्न उठ्यो।
छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा पाँच सदस्यीय टोली पनि गठन गरियो। तर, पछि थापालाई संयोजकबाट हटाएर एसएसपी सुशीलकुमार यादवलाई संयोजक बनाइयो। र, थापा सदस्यमा झारिए।
सुन प्रकरणको छानविनका लागि गठित एसएसपी नेतृत्वको छानविन समितिले सुन बरामद भएको भनिएको स्थान नै नक्कली भएको पत्ता लगायो।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन दाहालले घटनास्थल नै परिवर्तन गरेर आफूभन्दा माथिल्लो निकायलाई गुमराहमा राखेको पाइयो।
कमलादीमा सेतो कपडाको झोला फ्याँकेर स्कोर्पियो गाडी फरार भएको भनिए पनि त्यस क्षेत्रमा नभई घटनास्थल सुन्धारा क्षेत्र रहेको पुष्टि भयो।
१५ किलो सुन भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डिएसपी दाहाललाई दरबारमार्ग वृत्तको जिम्मेवारीबाट हटाइयो। दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्त भगाएको आरोप लागेको थियो।
सीतापाइलामा एसिड आक्रमण
गएको ८ साउनमा सीतापाइलामा युवतीमाथि एसिड प्रहार भयोे। सोही दिन राति महानगरीय प्रहरी वृत्त स्वयम्भुले रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं डल्लु बस्ने मोहमद आलम र सोही स्थानका मुन्ना मोहमदलाई पक्राउ गर्यो। उनीहरूले ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी युवतीमाथि एसिड प्रहार गरेका थिए।
मुन्ना भारतीय नागरिक हुन्। आलमले ती युवतीलाई मन पराउँथे। तर, युवतीले अर्को केटा मन पराएको भन्दै आलमले मुन्नालाई युवतीमाथि एसिड प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
गोगंबुमा टाउको काटेको लास
२५ साउनमा गोगंबुमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला पर्यो। ती पुरुष्को टाउको र शरीर क्रमशः सुटकेस र झोलामा थियो।
शव दाङका कृष्णबहादुर बोहराको थियो। बोहराको हत्यामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका–७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल पक्राउ परिन्।
अनुसन्धानको क्रममा उनीहरूबीच केही वर्ष अघि फेसबुकमा परिचय भएको खुल्यो। सम्बन्ध बिग्रिएपछि उनीहरूबीच बोलचाल नै बन्द भएको थियो, पछिल्लो पटक।
कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट महिलाका निर्वस्त्र तस्बिर राख्न थालेपछि पौडेलले आफू बस्ने घरमा बोलाएर रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारिन्। हाल पौडेललाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।
रौतहटमा पूजारी हत्या
३ भदौमा रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हमुमान मन्दिरका पुजारी श्रीराम साहको गोली प्रहारबाट हत्या भयो। हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा थियो।
घटनाको १३ दिनपछि पूजारीको हत्यामा रामनरेश राउत पटेल र बालकृष्ण पटेल पक्राउ परे। तर, पूजारी साहको हत्या प्रकरणमा पीडित परिवारले प्रहरीको अनुुसन्धानप्रति असन्तुष्टी जनाएका छन्।
टाउको बोकेर प्रहरी कार्यालय
१९ भदौमा धादिङको नीलकण्ठ नगरपालिका–१३ खल्चेतका राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको टाउको छिनाएर हत्या गरे।
मध्यराति गुरुङको हत्या गरेर परियार स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्ण गरेका थिए।
घटनास्थलबाट हिँड्दै हस्याङफस्याङ पुगेका परियारले ‘म त मान्छे काटेर आएको’ बताएका थिए। अदालतले परियारलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ।
मिक्लाजुङका शिक्षकको विभत्स हत्या
२३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालिकाका–१ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भयो। हत्याको जिम्मा तत्कालिन प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको थियो।
विप्लव समूहले हत्याको जिम्मा लिँदा पनि श्रेष्ठको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छैनन। पछिल्लो २१ फागुनमा सरकारले भूमिगत समूह विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याइसकेको छ।
मुकेश चौरसिया हत्या
कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा मुकेश चौरसियाको मृत्यु भयो।
चौरसियाको हत्यामा पहिलो संविधान सभामा नेकपा एमालेबाट पर्सा–३ मा निर्वाचित भएका संविधासभा सदस्य राजकुमार गुप्ता संलग्न रहेको मुकेशको परिवारजनले आरोप लगाए।
गुप्ता पनि संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मानेन। गुप्ताविरद्ध जाहेरी लिन नमानेपछि पर्सामा दिनहुँ प्रदर्शन भयो। चौरसियाको हत्याले केन्द्रको राजनीतिमा समेत असर गर्यो।
लहान बम विस्फोट
१ चैतमा सिहराको लहानस्थित मालपोत कार्यालय बम विस्फोट भयो। विस्फोटबाट कार्यालयका नायब सुब्बा शिवकुमार यादवसहित पाँचजना घाइते भए।
घटनास्थलबाट प्रहरीले भूमिगत गोइत समूहको पर्चा भेट्यो। भीडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको थियो।
गोइत समूहको पर्चा भेटेसँगै प्रहरीले विस्फोटक पदार्थ (कुकर बम) गोइत समूहले नै राखेको अनुमान गरेको थियो। अन्ततः १८ दिनपछि घटनामा संलग्न २ जना पक्राउ परे।
उक्त घटनामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार भनिएका सुखिपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यु गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीकाअनुसार पक्राउ परेका दुबै जनाले विस्फोट आफूहरुले गराएको स्वीकार गरिसकेका छन्।
भागरथी बलात्कार र हत्या
गत २१ माघमा बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या भयो । लामो समयपछि प्रहरीले उनको हत्यारा पत्ता लगायो ।
भागरथी स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । सोही विद्यालयमा अध्ययनरत दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले ५ फागुनमा सार्वजनिक गर्यो ।
यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको प्रहरीसमक्ष बयान दिएका छन् । हाल उनलाई जिल्ला अदालत बैतडीले पुर्पक्षको लागि सुधार गृह पठाएको छ ।
माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी पछिल्लो दिन बेलुका बलात्कार गरि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेको थियो।
भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिम प्राप्त कुकुरले अपराधी गएको बाटो देखाए पनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी घटनाको ३ दिनपछि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै बसे । त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत डिएसपीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका थियो । तर डिआईजी सुवेदीको अनुसन्धानको कारण प्रहरीले छिट्टै सफलता हात पार्यो ।
महोत्तरी दम्पत्ती हत्या
एक महिनापछि अर्थात (चैत १२ गते) ओछ्यानसहित बेपत्ता भएका महोत्तरीका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव फेला पर्यो। गत फागुन १० उनीहरु बेपत्ता भएका थिए।
महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीको दावी छ। लामो समयसम्म पनि प्रहरीले झा दम्पत्तिबारे केही सुइँको पाउन नसकेपछि चौतर्फी आलोचना भएको थियो।
पछिल्लो समय प्रत्येक दिनजसो प्रर्दशन भइरहन्थ्यो। स्वभाविक पनि हो। मान्छे बेपत्ता भएको एक महिना बित्दासमेत प्रहरीले सुइँको समेत नपाउनुले घटना रहस्यमय बनेको थियो।
तर, अनुसन्धान गर्ने क्रममा प्रहरीले सुरुदेखि नै शंकाको घेरामा रहेका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको थियो। अन्ततः त्यही चारजनाले नै दम्पत्ति झाको अपहरण गरेर खाल्डो खनेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो।
प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसारफेला परेको शव हराइरहेका झा दम्पतीकै रहेको र शव चाँडो कुहियोस् भनेर खाल्डोमा नुन पनि हालेको देखिएको छ ।
साथै, शवको सनाखत मृतकका छोरा र भतिजाले गरेका हुन्। पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर रहेका छन्।
१ महिना लामो समयपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले दम्पत्तिको शव पत्ता लगाउन सफल भएको हो।
सुनचाँदी व्यवसायीको हत्या
गत शनिबार राति लुटेरा समूहले सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गर्यो । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो ।
उक्त घटनामा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भइन् । मध्यराति आएको समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको हो।
गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको छ ।
उनीहरुले घटनामा आफ्नो संलग्नता नभएको दावी गरेपनि प्रहरीले उनीहरु नै रहेको आशंका गरेको छ।
यस्तै गएराति अर्का सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । हतियारधारी लुटेरा समूहले लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा रहेको गरगहना फिल्मी शैलीमा लुटपाट गरेका हुन् ।
५÷७ जनाको समुहमा आएका लुटेराहरु सोमवार करिब ७ बजे एक्कासी व्यवसायी शारडाको घरमा प्रवेश गरेको प्रहरीले जनाएको छ । रोक्ने प्रयास गर्दा बुवा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर कुटपिट गरे र लुटपाट गरी भागेको शारडाले बताए।
लुटेरा समूहको कुटपिटबाट शारडाका बुवा भागीरथ र श्रीमती सामान्य घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

