
रौतहटको दलित टोलमा सामूहिक आक्रमण, दुई महिलासहित ६ घाइते
रौतहट- फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा सामूहिक आक्रमण हुँदा दुई महिलासहित ६ जना घाइते भएका छन्। पीडित पक्षले घटनाको छानबिन नहुने र उल्टै प्रहरीबाट अन्याय हुने आरोप लगाएका छन्।
घटना फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या र प्रतिनिधि सभा निर्वाचन अघि भएको हो। पीडित बिर्जा राम चमारले पत्रकार सम्मेलनमा बताएका छन् कि सामान्य विवादको क्रममा स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव, सुखारी यादव, गिरधारी यादव, नवीनकुमार यादव र जयप्रकाश यादवको समूह साँझ करिब ६ बजे लाठी–भाटा लिएर घरभित्र प्रवेश गरी उनलाई र उनका परिवार सदस्यलाई मरणासन्न हुने गरी कुटपिट गरेको थियो। घरका सामान र दुईवटा मोबाइलसमेत तोडफोड गरिएको पीडितले जानकारी दिएका छन्।
कुटपिटमा ५५ वर्षीय बिर्जा राम चमारको ढाड र घाँटीमा चोट, उनकी ५० वर्षीय श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम, छोरा राजकुमार रामको टाउकोमा तीन टाका, सुब्बा रामकी १६ वर्षीय छोरीको टाउकोमा सात टाँक, ललन राम चमारको अनुहार र शरीरमा निलडाम तथा नरेश राम चमारको टाउको, आँखा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
पीडितका अनुसार घटना अघि दुईपक्षबीच सामान्य भनाभन भएको थियो। बिर्जा रामका छोरा राजकुमार रामलाई घरबाट केही पर कुटपिट गरेपछि प्रतिवाद गर्दा यादवपक्षका एक जनाको टाउकोमा चोट लागेको थियो। त्यसको करिब एक घण्टा पछि यादवपक्षले लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको उनीहरूले बताए।
घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट आएको टोलीले कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा पीडित र उनका छोरालाई हतकडी लगाएर नियन्त्रणमा लिएको आरोप छ। स्थानीय समाजसेवी तथा मेयर प्रत्यक्षदर्शी विजय यादवका अनुसार प्रहरी निरीक्षक सुरेन्द्र यादवले कुरा नसुनेपछि उनीहरूले रौतहटका प्रहरी प्रमुखलाई फोन गरेर छोड्न आग्रह गर्नु परेको थियो।
पीडितले घटनापछि एक सातासम्म जाहेरी दर्ता नभएको आरोप समेत लगाएका छन्। प्रहरी निरीक्षक सुरेन्द्र यादवले भने विपक्षीपक्षका एकजनाको टाउको फुटेको र निर्वाचन संवेदनशीलता भएकाले उनीहरूलाई नियन्त्रणमा राखिएको बताए। पछि बिर्जा राम परिवारका सदस्य पनि घाइते भएपछि जिम्मा–जमानामा छोडिएको उनले स्पष्ट पारे।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्देशन दिइसकेको बताएका छन्।



कागजपत्र |
