
सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ किशोर पक्राउ
सुर्खेत- सुर्खेतमा एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै जना १८ वर्ष मुनिका छन्।
पूर्वी सुर्खेतको गुर्भाकोट घर भई वीरेन्द्रनगरमा बस्दै आएकी १६ वर्षीया इनिसा विक फागुन २३ गते जागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई प्रदेश अस्पताल कालागाउँ लगिँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मृतकका परिवारले जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। इनिसा ट्युसन पढ्न घरबाट बिहान निस्किएकी थिइन्।
उनकी आमा अबेरसम्म छोरी नफर्किएपछि सम्पर्क गर्न खोज्दा फोन स्विच अफ थियो। बिहान करिब ९ बजेसम्म पनि छोरी घर नफर्किएपछि घटनास्थलबाट एक व्यक्तिले फोन गरी ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा मृत फेला परेकी छिन्’ भन्ने जानकारी दिएका थिए।
एसपी शाहीका अनुसार प्रारम्भमा एक जना किशोर पक्राउ गरी अनुसन्धान गर्दा थप तीन जनालाई पनि नियन्त्रणमा लिनुपर्ने देखिएको थियो। ‘किशोरीको बलात्कार गरेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले बताए।
पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य सार्वजनिक हुने जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा सबै चारै जना घटनामा संलग्न रहेको देखिएको छ।



कागजपत्र |
