
पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला
पोखरा- पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासी तथा पर्यटकमा त्रास फैलिएको छ । लेकसाइडस्थित लालुपाते मार्ग (स्ट्रिट ४१) मा रहेको होटल फेवा सुट्सको मुख्य प्रवेशद्वार अगाडि शंकास्पद वस्तु देखिएको हो ।
स्थानीयले सडकछेउ बेवारिसे अवस्थामा राखिएको झोलाभित्र प्रेशर कुकरजस्तै देखिने वस्तु फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले तत्काल घटनास्थल घेरा हाली आवतजावत पूर्ण रूपमा रोक लगाएको थियो ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर शंकास्पद वस्तुको जाँचबुझ सुरु गरेको छ । प्रत्यक्षदर्शीका अनुसार झोलाभित्र स्टीलको भाँडो भेटिएको छ, जसलाई विस्फोटक हुन सक्ने आशंकामा सेनाले प्राविधिक परीक्षण गरिरहेको छ । सुरक्षाका दृष्टिले लालुपाते मार्गलाई पूर्ण रूपमा ‘सिल’ गरिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
