
बिदामा पनि सर्वोच्च अदालत खुला रहने
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ ।
विशेषगरी बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन तोकिएको अवधिमा सीमित समयका लागि सेवा सञ्चालन गरिने अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको सुनुवाइका लागि अदालत खुला रहनेछ ।
बन्दीप्रत्यक्षीकरणको रिट व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र मौलिक हकसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ ।
अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई कानुनी प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ ।



कागजपत्र |
