सुर्खेतमा चुनाव बिथोल्न सक्ने आशंकामा ८ जना पक्राउ


सुर्खेत-  जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा ८ जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले जिल्लाका विभिन्न स्थानबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापा का अनुसार पक्राउ परेकाहरू चुनाव बहिष्कार घोषणा गरेका विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्ति हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का क्रान्तिकारी कम्युनिस्ट पार्टी का जिल्ला इन्चार्ज नारायण न्यौपाने, कालीकोटको नरहरीनाथ गाउँपालिका–७ का वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी का जिल्ला सचिव धीर दर्जी (डेबिट परियार) रहेका छन् ।

यस्तै, सान्नी त्रिवेणी गाउँपालिका–६ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्युरो सदस्य कर्णबहादुर बिसी, कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव श्याम कुवँर पनि पक्राउ परेका छन् ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का बहुमत पार्टी का जिल्ला सचिव राजु भनिने राजकुमार पौडेल, भेरीगंगा नगरपालिका–१२ का नेकपा (क्रान्तिकारी) का जिल्ला सचिव रन्तबहादुर वली पनि नियन्त्रणमा लिइएका छन् ।

प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–९ का वडा कमिटी सदस्य पूर्ण तिरुवा र रुकुम पश्चिमको चौरजारी नगरपालिका–८ का मानबहादुर मल्ललाई समेत निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध शान्ति सुरक्षामा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए । प्रहरीले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ ।

प्रतिक्रिया