
झापा– ५ मा एमालेसँग सहकार्य हुने हल्लाकाबीच रन्जितलाई प्रचण्डको फोन
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्। बिहीबार उनले झापा–५ का उम्मेदवार रन्जित तामाङलाई फोन गरेर सामाजिक सञ्जालमा फैलिएका अफवाहमा नपर्न र सक्रिय भएर चुनावी तयारीमा लाग्न सुझाव दिएका हुन्।
तामाङका अनुसार, प्रचण्डसँग भएको फोनवार्तामा उनले आफूलाई भनेका छन्, “बाहिर जे बजारमा हल्ला आएको छ, कहीँ पनि अलायन्स हुँदैन। कुनै पनि छलफल वा सम्झौता भएको छैन र हुँदैन पनि। हामी दृढतापूर्वक लागौं।” साथै, प्रचण्डले पार्टी पंक्तिलाई सक्रिय भएर चुनावी अभियानमा खटिन पनि आग्रह गरेका छन्।
यसअघि बुधबार काठमाडौंमा प्रचण्डले बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्न कांग्रेस, एमाले र नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए। उनले भनेका थिए, “सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दा, संविधान र शान्ति प्रक्रिया बचाउन कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्ने हुन्छ। यी त हाम्रा पुराना सहयात्री हुन्। वैदेशिक दलालहरूको विरुद्ध जान पनि मिल्नुपर्छ।”
प्रचण्डका यी अभिव्यक्तिपछि झापा–५ र दाङ–२ लगायतका क्षेत्रमा कांग्रेस–एमालेसँग मिल्न लागेको चर्चा उठेपछि उनले सो स्पष्टिकरण दिन तामाङलाई फोन गरेका हुन्।



कागजपत्र |
