नागार्जुनमा राति मोटरसाइकल लुटपाट, दुई युवा प्रहरी नियन्त्रणमा


काठमाडौं – धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप घर भई हाल नागार्जुन नगरपालिका–३ ठुलो भर्‍याङमा बस्दै आएका १९ वर्षीय अनिस सोनाम र रसुवा धुन्चे घर भई नागार्जुन नगरपालिका–२ सानोभर्‍याङमा बस्दै आएका १८ वर्षीय राजन तामाङ रहेका छन्।

आइतबार राति करिब ११ बजे सानोभर्‍याङस्थित आर्मी मेडिकल कलेज नजिकको सडक खण्डमा पैदल आएका दुई व्यक्तिले बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकल रोकी धारिलो हतियार देखाउँदै ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि उनीहरूले उक्त मोटरसाइकल लुटी फरार भएका थिए।

पीडितले उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लुटिएको मोटरसाइकलसहित नागार्जुन नगरपालिका–२ तीनघरे क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

उनीहरूविरुद्ध डाँका–चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया