रामेछाप बस दुर्घटना : हराइरहेका थप एक यात्रुको शव फेला


रामेछाप – रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो। दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर दक्षिणतर्फ फेला परेको शवको सनाखत परिवारले गरेका छन्। शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

गत माघ २७ गते काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रालिको यात्रुबाहक बस सडकबाट भिरमा खसेर तामाकोशी नदीमा पुगेको थियो।

दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए। त्यसपछि हराइरहेका तीनमध्ये सोमबार मात्र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो।

डुबानका कारण मृत्यु भएका थप दुई जनाको शव फेला परेसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। बसमा सवार ८ वर्षीय बालक रोनिस तामाङको अवस्था भने अझै अज्ञात रहेको छ। प्रहरीले उनको खोजी कार्य निरन्तर जारी राखेको जनाएको छ।

प्रतिक्रिया