११ दिनपछि जेलमुक्त भए राजपाल यादव


मुम्बई- बलिउड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले जमानत दिएको छ। उनी गत फेब्रुअरी ५ देखि तिहाड जेलमा रहेका थिए। अदालतले सुनुवाइका क्रममा जमानतका लागि दिउँसो ३ बजेसम्म १ करोड ५० लाख रुपैयाँ बराबरको डिमान्ड ड्राफ्ट जम्मा गर्न निर्देशन दिएको थियो।

अदालतले तोकिएको समयसीमाभित्र रकम जम्मा भएमा मात्र रिहाइ सम्भव हुने स्पष्ट पारेको थियो। राजपालका वकिलहरूले अदालतको आदेशअनुसार आवश्यक रकम जम्मा गरिएको जानकारी दिएका छन्। सोही अनुसार जमानत प्रक्रिया पूरा भएसँगै अभिनेता राजपाल यादव ११ दिनपछि जेलमुक्त हुने भएका छन्।

राजपाल यादवले फेब्रुअरी १९ मा आफ्नी भतिजीको विवाहमा सहभागी हुन पाउने उद्देश्यले जमानत निवेदन दायर गरेका थिए। अदालतको आदेश पालना गर्दै उनी ११ दिनअघि आत्मसमर्पण गरी तिहाड जेल पुगेका थिए।

विवरणअनुसार राजपालले सन् २०१२ मा आफ्नो चलचित्र अता पता लपाता निर्माणका लागि ‘मुरली प्रोजेक्ट प्राइभेट लिमिटेड’बाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। चलचित्र बक्स अफिसमा असफल भएपछि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको र समयमै ऋण तिर्न नसक्दा ब्याजसहित उक्त रकम करिब ९ करोड रुपैयाँ पुगेको थियो। यही आर्थिक कारोबारसम्बन्धी विवादमा अदालतले उनलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो।

रिहाइअघि उनकी श्रीमती राधा यादवले राजपाल पूर्ण रूपमा स्वस्थ रहेको र परिवार उनको साथमा रहेको बताइन्। “प्रशंसक र चलचित्र क्षेत्रबाट पाएको मायाका लागि हामी अत्यन्त आभारी छौँ,” उनले भनिन्।

सहयोग गर्ने कलाकारबारे सोधिँदा राधाले सलमान खान र अजय देवगणले सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गरिन्। यद्यपि उनले सहयोगको रकम वा विवरण सार्वजनिक गर्न चाहिनन्।

समाचार स्रोतका अनुसार सलमान खान, अजय देवगण तथा सोनु सुदले जमानतका लागि आवश्यक १ करोड ५० लाख रुपैयाँमध्ये केही अंश सहयोग गरेका हुन्। अन्य केही कलाकार र चलचित्रकर्मीले पनि सहयोग गरे तापनि उनीहरूले नाम सार्वजनिक गर्न चाहेका छैनन्।

 

प्रतिक्रिया